Saptahik / Technology

क्षुद्र ग्रह पृथ्वीको विनाशको कारण बन्न सक्छ

क्षुद्र ग्रह पृथ्वीसँग ठोक्किएर पृथ्वीमा विनाश हुने सम्भावना भएको कुरा नासाले व्यक्त गरेको छ । अहिले अमेरिकाले तैनाथ गरेको आणविक मिसाइल जत्तिकै ऊर्जाले भरिपूर्ण बेन्नु नामक क्षुद्र ग्रह २२ सेप्टेम्बर, २१३५ मा पृथ्वीमा ठोक्किने थोरै मात्र सम्भावना भएको कुरा बताउँदै अन्तर्राष्ट्रिय समाचार माध्यमहरू लेख्छन्— यो संकटको निराकरण गर्न नासाले योजना समेत तयार गरिसकेको छ । बेन्नु नामक क्षुद्र ग्रहको आकार लगभग २ सय वर्गमिटर छ भने त्यसले उत्सर्जन गर्ने ऊर्जा सन् १९४५ मा हिरोसिमामा खसालिएको आणविक बमभन्दा ८० हजार गुणा बढी रहनेछ ।

इन्जिनियरहरूको एक समूहले सैद्धान्तिक रूपमा ‘हाइपर भेलोसिटी एस्टेरोइड मिटिगेसन मिसन फर इमर्जेन्सी रेस्पोन्स भेहिकल’ (ह्याम्मर) को स्वरूप तयार गरेका छन्, जसले यस्ता समस्या हल गर्ने उपायको खोजी गर्छ । यो यस्तो काल्पनिक स्पेसक्राफ्ट हो जसले बेन्नुलाई आणविक शक्तिले प्रहार गरी दिशा परिवर्तन गर्छ ।

ह्याम्मर नासाको वास्तविक कार्यक्रम नभै यस्ता यन्त्र बनाउन आइपर्ने प्राविधिक चुनौतीहरूको अनुसन्धान कार्यक्रम हो । सन् २०१३ मा लगभग ६० फिटको क्षुद्र ग्रह रूसमा पृथ्वीसँग ठोक्किएको थियो । त्यसबाट विश्वयुद्धताका जापानको हिरोसिमामा भएको आणविक विस्फोटभन्दा करिब ३० गुणा बढी ऊर्जा निस्किएको थियो ।

के हो क्षुद्र ग्रह ?

क्षुद्र ग्रह साना चट्टानीय पिण्ड हुन् जसले सूर्यको परिक्रमा गर्छन् । यी आकाशीय पिण्डले मंगल ग्रह तथा बृहस्पति ग्रहको बीचमा रहेर सूर्यको परिक्रमा गर्छन् । क्षुद्र ग्रहहरू लाखौँको संख्यामा छन्, जसको आकार सयौं माइलदेखि केही फिटसम्म हुन सक्छ । यस्ता क्षुद्र ग्रहको औसत तापक्रम माइनस ७३ डिग्री सेल्सियस रहने गरेको छ ।

इटालियन वैज्ञानिक जिउसेप्पे पियाज्जीले सन् १८०१ मा पहिलो पटक क्षुद्र ग्रह पत्ता लगाएका थिए र त्यसको नाम रोमन देबीको नामबाट ‘सेरस’ राखिएको थियो । सबैभन्दा ठूला ५ क्षुद्र ग्रहको पिण्ड सबै क्षुद्र ग्रहको पिण्डको ५० प्रतिशत रहेको वैज्ञानिकहरू बताउँछन्, जसमध्ये सेरसको ब्यास ५ सय ९७ माइल छ । त्यस्तै ३ सय २९ माइल व्यास भएको भेस्टा, हाइजियार पल्लास अन्य ठुला क्षुद्र ग्रह हुन् ।

क्षुद्र ग्रहको पृथ्वीमा असर 

आकारमा सानै भए पनि क्षुद्र ग्रह हाम्रा लागि खतरानाक हुन सक्छन् । विगतमा पनि कैयौं क्षुद्र ग्रह पृथ्वीसँग ठोक्किसकेका छन् भने यो ठोक्किने क्रम भविष्यमा पनि जारी रहनेछ ।

 लगभग ६ करोड ५० लाख वर्षअघि पृथ्वीमा १० किलोमिटरको क्षुद्र ग्रह ठोक्किएर अन्तत ‘ग्लोबल वार्मिङ’ भै डाइनासोर लोप भएको कुरा विभिन्न अनुसन्धानले बताउँदै आएका छन् ।

क्षुद्र ग्रह ठोक्किँदा ३ करोड वर्षघि अहिले अर्जेन्टिना भएको ठाउँमा पनि ठूलै असर परेको थियो ।

सन् १४९०मा क्षुद्र ग्रहका कारणले चीनमा १० हजार मानिसको मृत्यु भएको थियो ।

सन् १९०८ मा साइबेरियामा लगभग ५० मिटरको क्षुद्र ग्रह विस्फोट हुँदा २ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएका रूखहरू नाश भएका थिए भने मृग प्रजातिका करिब हजार जति जीवको मृत्युसमेत भएको थियो । त्यतिबेला आकाशमै विस्फोट भएका कारण पृथ्वीमा क्रेटर भने बनेन ।

सन् १९३७ मा हेर्मेस नामक एक किलोमिटरको आकार भएको क्षुद्र ग्रह पृथ्वीको करिब ६ लाख माइलको दूरीबाट गयो । त्यो ग्रह पृथ्वीमा ठोक्किएको भए त्यसले ठूलो क्षति पुर्‍याउने सम्भावना थियो ।

उत्तरी क्यानाडामा रहेका तालहरू ‘क्लियर वाटर लेक’ पनि क्षुद्र ग्रह ठोकिएर बनेको क्रेटर (खाल्डो) को कारण बनेको विभिन्न अनुसन्धानले देखाएको छ ।

सन् २०२८ मा पनि एउटा क्षुद्र ग्रह ‘१९९७ एक्सएफ ११’ पृथ्वीको धेरै नजिक आउनेछ तर यो पृथ्वीसम्म भने आइपुग्नेछैन । कुनै कारणवश यो पृथ्वीमा आए ३० हजार माइल प्रतिघण्टाको गतिमा पृथ्वीमा बजारिनेछ, जसको ऊर्जा १० लाख मेगा टनको बम बराबर हुन सक्छ, जुन पृथ्वीमा भएका सम्पूर्ण जीवन सिध्याउन पर्याप्त हुनेछ ।

यदि क्षुद्र ग्रहको आकार २० तले घर (२ सय फिट) जत्तिकै मात्र भए त्यसले उत्पादन गर्ने उर्जा अहिले उपलब्ध सबैभन्दा ठुलो परमाणु बम उत्सर्जन गर्ने ऊर्जा बराबर हुने कुरा अनुसन्धानकर्ताहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *